बराहपोखरीमा लाग्ने मेलाका लागि दुई स्थानीय तहमा दुई दिन सार्वजनिक बिदा

Halesi Khabar

खोटाङ, २० कातिक । हरिबोधनी एकादशीको अवसर पारेर खोटाङको बराहपोखरीमा लाग्ने मेलालाई लक्षित गरेर जिल्लाको दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएको छ । हप्ता दिनसम्म लाग्ने बराहपोखरी मेलालाई लक्षित गरेर बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले भोलि कातिक–२१ र पर्सी २२ गते दुई दिन सार्वजनिक बिदा दिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने बराहपोखरी गाउँपालिकाको वडा नम्बर–१ मा पर्ने बराहपोखरीमा हरिबोधनी एकादशीको अवसरमा ठूलो मेला लाग्ने गरेको छ ।

मेलालाई व्यवस्थित गर्न दुई गाउँपालिका तथा बराहपोखरी विकास समितिको तर्फबाट स्वयम्सेवक परिचालन गरिएको जनाइएको छ । बराहपोखरी मेलामा हुन सक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जानकारी दिनुभयो ।

मेलामा विशेषगरी दिबङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ । बराहपोखरीमा लाग्ने मेला भर्न जिल्लाका दश वटै स्थानीय तह, छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, ईलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चिन, भुटान लगायतका दर्शनार्थी एवम् भक्तजन आउने गरेका छन् ।

परापूर्वकालमा एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहा“बाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किम्बदन्ती छ । बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वर मन्दिरको पूजाआराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि पोखरीमा नुहाउने चलन समेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ३०० को हाराहारीमा रहेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता निश्चल खड्काले बताउनुभयो । बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ ।

डुङ्गा सयर गर्ने पर्यटकबाट संकलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्र घोषणा गरेको छ ।

यसको चौतर्फी विकासका लागि सरकारले गरेको यो निर्णय जिल्लाको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया