साकेला गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Halesi Khabar

खोटाङ, २० कातिक । आगामी मङ्सिर–१४ गते हुने उपनिर्वाचनका लागि खोटाङको साकेला गाउँपालिकामा आज (मङ्गलबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तत्कालीन वडाध्यक्ष मणीकुमार राईको मृत्यु भएपछि रिक्त पदपूर्तीका लागि गर्न लागिएको उपनिर्वाचन सम्पन्न गराउन गाउँपालिकाको केन्द्र रहेको मात्तिम मानेभञ्ज्याङमा जिल्ला न्यायाधिस मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको हो ।

जिल्ला न्यायाधिस नै मुख्य निर्वाचन अधिकृत रहने कार्यालय स्थापनाका क्रममा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला निर्वाचन अधिकारी कोपिला राई, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको टोली मात्तिम पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारको मनोनयन दर्ता, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने, मतदान गराउने र मत परिणाम घोषणा गर्नेलगायतका काम हुने जिल्ला निर्वाचन अधिकारी राईले बताउनुभयो ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियका कारण गत वैशाख–९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनमा खिदिमाका एक हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने जनाइएको छ ।

आशन्न उपनिर्वाचनका लागि खिदिमामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्वर्गीय मणीकुमारकी श्रीमती शिवकला राई, नेपाली काँग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ । रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई विजयी गराउन तीन वटै राजनीतिक दलका नेता तथा कार्यकर्ता खिदिमामा खटिएका छन् ।

तपाईको प्रतिक्रिया