के साँच्चै विकास नभएकै हो त ?

Halesi Khabar

भीम राई
अलि अगाडिबाट कुरा शुरु गरौँ । खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने (तात्कालीन माक्पा गाविस) ऐसेलुखर्क गाउँपालिका–७ माक्पाबाट नुन तेल लिन जाँदा पुरापुर दश दिन ढाकर बोकेर हिँडनु पथ्र्यो । घरबाट रित्तो ढाकरमा सातुसामल, गुन्द्रुक किनिमा, पकाउने पस्काउने भाँडाकुँडा र ओड्ने ओछ्याउने कपडा समेत राखेर हिँड्नु पथ्र्यो । शुरुमा हिँडेका दिन बिहान हिडेमा च्यास्मिटार वा डिकुवा वरिपरि पिप्चाई, राईघाट पुलसम्म पुगिन्थ्यो ।

दोस्रो दिनको वास निभुवाटार, सोरुङखोला, सिन्दुरवेसी, लेम्पाटार, राउतखर्क, भाण्टाबारी, बोबोला हुँदै मोरुङ खोला वरीपरि हुन्थ्यो । तेस्रो दिन बल्ल कटारी पुगेर आफूलाई आवश्यक पर्ने फलाम, नुन, तेल, दाल, चामल खरिदगरि भारी लगाएर फर्किनु पथ्र्यो । यसरी जानै तीनदिन लाग्ने ठाउँबाट भारी सहित फर्किदा सात दिन लागी जान्थ्यो । यो एउटा अतित हो ।

के अहिले यो अवस्था छ त ? अहिले नुनतेल किन्नकै लागि कटारी, बेल्टार, गाईघाट जानुपर्ने अवस्था छ र ? राजधानी काठमाडौँ जानका लागि चार दिन लाग्ने ठाउँमा अहिले कति घण्टा लाग्छ ? हामीले सरकारी विद्यालय पढ्दा मासिक शुल्क तिर्नु पथ्र्यो । ड्रेस भन्नु आफूसँग घुँडा फाटेको शुरुवाल र कुम च्यातिएको दौराको कुनै विकल्प थिएन ।

हाम्रो सामाजिक आर्थिक हैसियत नाजुक थिए । तर आज त्यो स्थानबाट उठेर कुन विद्यार्थीले सरकारी विद्यालय भन्दा बाहिर रहनु परेको होला । शिक्षकका रुपमा स्वयम्सेवक शिक्षक खोज्नु पर्ने मकैको जुत्ता संकलन गर्नुपर्ने अवस्था हाल त छैन । यसले एउटा पाटामा हेर्न हो भने शैक्षिक अवस्था सुधारिएकै छन् । गुणस्तर कायम गर्न नसक्नु शिक्षामा विभेद रहनु दोस्रो विषय हो । यो राज्यले गर्दै लैजाने विषयहरु हुन् ।

अर्को अतितको पनि कुरा गरौँ । उस बेला गाउँघरमा चामलको भात खान चाडपर्व कुर्नु पथ्र्यो । कि घरमा कोही नौलो र महत्वपूर्ण पाहुना आउनु पथ्र्यो । हरियो तरकारी खान वर्षायाम नै पर्खनुको विकल्प थिएन । मासु खान चाडपर्व आउनु पथ्र्यो । गाउँमा रेडियो सुन्न लाईसेन्स लिनु पर्ने समयबाट अलिकति फड्को मारेको मात्र अवस्था थियो । कसैको छोरा लाहुरे भए उसले ल्याउने कोसेली मुख्य गरेर एउटा रेडियो नै हुने गथ्र्यो टिभिको कुरा पछिको हो ।

अहिले कुनघरमा दैनिक ढिँडो र च्याँख्लाको भान्सा होला ? कसको घरमा सुक्खा तरकारी मात्र प्रयोग होलान् ? कस्ले मासु खान कै निम्ति चाडपर्व कुर्नु पर्ला ? अहिले प्रत्येकको हातमा मोबाइल पुगेको छ । उसबेला चिठी पठाउँदा तीन महिनामा नसुनिने खबर अहिले तुरुन्तै पाउन सकिन्छ । रेडियो घडी जस्ता कुराहरु सबैको हातमा रहेको मोबाइलमा छ । कम्प्युटर इमेल इन्टरनेटको पहुँच बढेका छन् । गाउँ गाउँमा सडकको पहुँच पुगेको छ ।

गाउँघरमा बुढापाकाहरुले रोड दार्जिलिङ जाँदा देखेका बताउँथे ! गाडीको कुरा गर्दा नातिको पालमा मात्र आउँछ भन्ने सुनाउँथे ! विजुलीको कुनै परिकल्पना गर्न त्यसबेला गाह्रो हुन्थ्यो । अस्पतालको नाममा धामी झाँक्रीको कुनै विकल्प थिएन । अहिले प्रत्येक गाउँमा स्वास्थ्य सेवा पुगेको छ । गाउँ गाउँमा विजुली बत्तीको पहुँच पुगेको छ । सोलार बत्ती नै किन नहोस मकैको ढोड, मट्टीतेल बाल्नु पर्ने झन्झट आजकल कहिँपनि छैन । खोलाहरुमा पुल नभएकाले मान्छेहरु बगेर मर्नु परेको छैन । प्राकृतिक प्रकोपबाहेक अकालमा ज्यान जाने खतराबाट मुक्त छौँ ।

माथिका सबै विकासको सन्दर्भहरु नै हुन् । हिजो जस्तो आज अवश्य छैन । केही नभएको भन्ने तर्कसँग सहमत हुन सकिन्न । हिजो राणा शासन पञ्चायतले केहि सुधार गरेकै हो । पञ्चायतको समाप्तिपछि भएको राजनीतिक परिवर्तनको उपज नै हो आजको विकास ।

चेतनाको हिसाबले सामाजिक हिसाबले या जुनसुकै हिसाबले भएपनि समाज अग्रगमनतिर गइरहेको छ । यो सँगै विकृतिहरु पनि बढेका त होलान् तर यो सच्याइको बाटोमा जानुपर्छ लैजानु पर्छ । हिजो ०४६ पछि ०६२÷०६३ सम्मको पृष्ठभूमिमा भएका राजनीतिक चेतनाको विकासलाई हेर्ने हो भने । चेतनाको स्तर निकै माथि उठेका छन् । राजनीतिक सँस्कारको राम्रो विकास भएको छ ।

कसैले त्यो बेला राजा पनि भएकाले विकास भएको तर्क गरेर अहिले राजतन्त्रको फेरी हुँकार मच्याउने गर्छ भने त्यो भ्रम शिवाय केहि होइन । त्यसबेला पनि राजनीतिक दलहरुकै कारण विकास र राजनीतिक चेत उठेका हुन् । चाहे त्यो मुलधारका राजनीतिक दल हुन् या सशस्त्र द्धन्द्धरत दल होउन । यीनै राजनीतिक चेतनाका कारण राजा फालिएपछिको उपलब्धी नै हेर्न हो भनेपनि कैयन कुराहरु भएका छन् । विकास निर्माणको साना साना नमूनाहरु गाउँमा आएको छ । केहि गाह्रो अफ्ठयाराहरु पनि नभएका होइनन् । तर निराश भएर बस्नु परिहाल्ने केहि त्यस्तो खतरा देखिन्न ।

हिजो गाउँमा विकासको बजेटको नाममा एक तिरिन बजेट नभएको ठाउँमा अहिले करोडौँका कामहरु भइरहेका छन् । शान्ति सुरक्षाको क्षेत्रमा भनाँै या सरकारी काम कारबाही गर्ने कुरामा सबैठाउँमा केहि न केहि भएका छन् ।

परिर्वतन समयको माग हो । अब पछाडी फर्के हिँडन सकिन्न । अहिले फेलिरहेको जुन अफवाह छ । यसले कुनै पनि सफलता प्राप्त हुँदैन । सामाजिक सञ्जालहरुमा आएजस्तो अहिलेको व्यवस्था र नेताहरुले केहि गरेनन् भन्ने तिर गएर बाँकी पुरानै ढाँचाको व्यवस्था रोज्ने हो भने यो प्रतिगमनको धारबाट निकास कुनै हालत आउन्न । सामाजिक सञ्जालबाट देश चलाउनु र यर्थातमा देश हाँक्नु विल्कुल फरक विषय हुन् । सबैलाई चेतना आवस !

तपाईको प्रतिक्रिया