खोटाङमा सात प्रहरी भवन निर्माणाधीन, तीन प्रक्रियामा

Halesi Khabar

खोटाङ, १८ कातिक । जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र मात्तिमबिर्ता, प्रहरी चौकी देविस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देविस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपा २०÷२० प्रतिशत निर्माण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आवासगृह नेपाल सरकारको नियमित बजेट तीन करोड ९० लाख सात हजार ६७२ रुपैयाँ १२ पैसा लगानीमा निर्माण शुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्क भूकम्प प्राधिकरण कोषको तीन करोड १५ लाख ९१ हजार १५० रुपैयाँ ७७ पैसा, मात्तिमबिर्ता साकेला गाउँपालिकाको रु पन्ध्र लाख, प्रहरी चौकी देविस्थान भूकम्प प्राधिकरण कोषको एक करोड ७९ लाख २८ हजार ३३१ रुपैयाँ १८ पैसा, रतन्छा प्रदेश सरकारको एक करोड ७९ लाख ३६ हजार ३२३ रुपैयाँ ६० पैसा, च्यास्मिटार प्रदेश सरकारको एक करोड ६४ लाख ४८ हजार ९८३ रुपैयाँ ३६ पैसा र बुइपा प्रदेश सरकारकै एक करोड ७९ लाख २२ हजार ७९९ रुपैयाँ २५ पैसामा निर्माण भइरहेको छ । निर्माणाधीन सात प्रहरी भवनमध्ये जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता र देविस्थान प्रहरी चौकी भवनको सम्पन्न गर्नुपर्ने मिति यसअघि नै सकिएको प्रहरी प्रवक्ता खेरवारले बताउनुभयो ।

चार अस्थायीसहित ३५ वटा प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम शुरु हुने जनाइएको छ । तीन वटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण हुने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी रहेको छ । आफ्नै प्रहरी भवन अभावमा जिल्लामा प्रति महीना ८१ हजार ९३८ रुपैयाँ ३३ पैसा राज्यकोषको रकम भाडा बापत खर्च हुने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया