नेपालका नेताको विलासी जीवन देखेर सी ले भने, ‘विलासी जीवन त्यागेर सादा जीवन ध्यान दिनुस

Halesi Khabar

चीनका राष्ट्रपति सी चिनफिङले स्वच्छता र सुशासनमा ध्यान दिन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेतालाई सुझाव दिएका छन् । नेपाली नेताहरू दिन प्रतिदिन विलासी बन्दै गइरहेको अवस्थामा चीनका राष्ट्रपति सीले विलासी जीवन त्यागेर सादा जीवन ग्रहण गर्न नेताहरूलाई सुझाएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका सीले आइतबार नेकपा सचिवालय सदस्यका नेताहरूसँग भेटवार्ता गर्दै सो सुझाव दिएका हुन् । भेटवार्तामा सहभागी नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीले स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने सुझाव राष्ट्रपति सीले दिएको बताएका छन् ।

चीनमा शासन सत्ता सञ्चालन गर्न कम चुनौतीपूर्ण नभएको तथा जनताको समर्थन नभएको भए त्यो सम्भवसमेत नभएको सीले भेटवार्ताको क्रममा भनेका छन् । सीले नेताहरू इमानदार र नैतिक बन्नुपर्नेमा जोड दिँदै जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दा सहजै सहयोग पाइने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो समय नेपालले राजनीतिक उपलब्धि र स्थायित्व हासिल गरेको बताउँदै उनले विकासको बाटोमा चीन सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल र चीनको सम्बन्ध वर्षौंदेखि राम्रो भएको र यसलाई अझ सुदृढ गर्दै लैजानुपर्ने उनले बताएका छन् ।
चीन र नेपालको कम्युनिस्ट पार्टीको सम्बन्ध अझै सुमधुर र मजबुत बनाउनुपर्ने र त्यसलाई साझा कार्यक्रम बनाएर अनुभव आदान प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कम्युनिस्ट क्रान्तिको आधारमा मात्रै सत्ता चलाएको नभएर उनले धेरै प्रतिकूलताबीच पनि जनतालाई उपलब्धिहरू दिन सकेकै कारण समाजवादको दिशामा नै अगाडि बढेको बताए । भेटवार्तामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले बीआरआईमा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धमा नयाँ युग सुरु भएको बताउँदै दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरूको छनोट र तीव्र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । यो खबर राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया