अरुलाई बचाउँन हिँडेका युवराज चौध दिनदेखि कृत्रिम श्वासको भरमा

Halesi Khabar

खोटाङ, घाँटीमा प्वाल बनाएर भेण्टिलेटरबाट कृतिम श्वास दिइएको छ । टिकटिक आवाज बजिरहने मनिटरमा ब्लड प्रेशरको गति १२० बाई ८० मा अडिएको छैन । बेला–बेला तलमाथि भइरहन्छ ।मुटुको चाल ७२ देखि ८० को बिन्दुमा राख्न उच्च क्षमताको औषधि क्यानलामार्फत चढाइएको छ । अक्सिजनको मात्रा ९० प्रतिशत भन्दा कम भएपछि भेन्टिलेटरबाटै अक्सिजन थप गराएर अहिलेसम्म प्राण धानिएको छ ।

एम्बुलेन्स दुर्घटनामापरि गम्भीर घाइते बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३८ वर्षीय युवराज आचार्यलाई अहिले बिराटनगरको गोल्डेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ । जिल्ला अस्पताल खोटाङले अन्यत्र रेफर गरेको बिरामी आफन्तलाई उपचारका लागि बिराटनगर लैजानेक्रममा असोज–२ गते राति सप्तरीको कञ्चनपुरस्थित बेरियरमा एम्बुलेन्स दुर्घटना हुँदै आचार्य आफै गम्भीर घाइते बन्नुभएको हो ।

दुर्घटनामापरि आचार्य अचेत बनेपछि अहिले उहाँको परिवार मात्र हैन पुरै गाउँसमाज चिन्तामा छ । हिन्दु नेपालीहरुको चाड दशैँ भित्रिएपनि सबैको कान अस्पतालबाट केही सुधारको खबर आउँछ की भन्नेमा मात्र केन्द्रीत छ । सामाजिक स्वभावका आचार्य समाजको दुःख, पिर, मर्कामा सहयोग गर्न अघि सरिहाल्ने व्यक्ति हुनुहुन्थ्यो । गाउँ–समाजमा कोही बिरामी परे अस्पतालसम्म पु¥याउन स्ट्रेचरको पहिलो काँध आचार्य आफैले हाल्ने गर्नुहुन्थ्यो ।

टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते हुनुभएका आचार्यको उपचारमा अहिले आर्थिक अभाव भएको छ । चौध दिनदेखि आईसीयूमा रहनुभएका आचार्यको उपचारमा कति खर्च लाग्छ भन्ने अहिलेसम्म यकिन भएको छैन ।

कृतिम श्वसको भरमा अहिले ढुकढुकी मात्र बाँकी रहेको आचार्यको असोज–३ गते बेलुका टाउकोको सफल अप्रेसन गरिए पनि अहिलेसम्म अवस्था चिन्ताजनक रहेको दाजु झमप्रसाद आचार्यले बताउनुभयो । “दुर्घटनामा परेपछि अचेत बनेका भाइको अहिलेसम्म होस खुलेको छैन”, उहाँले भन्नुभयो, “आफूहरुसँग भाइको उपचारमा लाग्ने खर्च नभएकाले उनको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसँग हात जोडेर आर्थिक सहयोगको याचना गरिएको हो ।”

दुर्घटना लगत्तै अचेत अवस्थामा अस्पताल पु¥याइएका आचार्यको उपचारमा आर्थिक अभाव भएपछि स्थानीय युवा नेता गोपालचन्द्र आचार्य र पत्रकार हरिबोल आचार्यको पहलमा छिमेकीहरुबाट सहयोग रकम संकलन अभियान शुरु गरिएको छ । गाउँकै आफन्त, छरछिमेक तथा दाजुभाइबाट शुरु गरिएको आर्थिक संकलन अभियानमा संकलन भएको रु दुई लाख ७२ हजार १० रकम बिहीबार आचार्यको घरमै पुगेर आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण प्रदान गरिएको छ ।

निम्न आर्थिक अवस्थाका आचार्यको जीवन रक्षाका लागि छरछिमेकीबाट स्वऐच्छिक रुपमा रकम संकलन गरिएको अभियान्ताहरुले बताएका छन् । आफ्नो पूर्व विद्यार्थी आचार्य दुर्घटनामा परेपछि उनको सफल उपचारको कामना गर्दै असोज १० गते पञ्च मावि दिक्तेलका शिक्षक तथा कर्मचारीले रु एक लाख २५ सहयोग रकम संकलन गरेर आफन्तलाई हस्तान्तरण गरेका थिए ।

रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बुलेन्स समेत क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । चालकको लापरवाहीका कारण सो एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले दाबी गर्नुभएको छ ।
दिक्तेलबजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको घरमा वृद्धा आमा, श्रीमती र दुई नाबालक छोरा छन् । निम्न आर्थिक अवस्थाका घाइते आचार्यको उपचारमा अहिलेसम्म रु नौँ लाख खर्च भइसकेको जनाइएको छ ।दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका थिए । सामान्य घाइते बनेका ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयास स्वरुप खोटाङ सेवा समाज बेलायत (युके)ले २०७३ साल चैत २६ गते खोटाङलाई एकैसाथ सात वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । त्यसमध्ये निर्मलीडाँडाका लागि उपलब्ध गराइएको ट १ झ ५०१ नम्बरको एम्वुलेन्स दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया