एम्बुलेन्स दुर्घटनाका घाइते आचार्यलाई छिमेकीको आर्थिक सहयोग

Halesi Khabar

खोटाङ, एम्बलेन्स दुर्घटनामापरि गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको उपचारार्थ आफन्तले आर्थिक सहयोग गरेका छन् । बिरामी आफन्तलाई अस्पताल लैजानेक्रममा गत असोज–२ गते राति सप्तरीको कञ्चनपुरस्थित बेरियरमा एम्बुलेन्स दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका आचार्यलाई पत्रकार हरिबोल आचार्य, युवा नेता गोपालचन्द्र आचार्य र स्थानीय युवा राजन आचार्यकोे पहलमा संकलन भएको रु दुई लाख ७२ हजार १० रकम बिहीबार आचार्यको घरमै पुगेर प्रदान गरिएको हो ।

दुर्घटनामापरि अहिलेसम्म अचेत अवस्थामा रहनुभएका आचार्यको उपचारका लागि आर्थिक समस्या भएपछि आफन्त तथा छरछिमेकबाट सहयोग जुटाइएको रकम संकलन अभियानका अभियान्ता पत्रकार आचार्यले बताउनुभयो । संकलित रकम स्थानीय देविप्रसाद आचार्य र मोहनप्रसाद आचार्यको उपस्थितिमा घाइते आचार्यकी आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गरिएको हो ।

बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत आचार्यको उपचारमा परिवारलाई आर्थिक समस्या भएको जानकारी प्राप्त भएपछि यसअघि असोज १० गते पञ्च मावि दिक्तेलका शिक्षक तथा कर्मचारीले रु एक लाख २५ सहयोग गरेका थिए । टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते हुनुभएका आचार्यको उपचारमा कति खर्च लाग्छ भन्ने अहिलेसम्म यकिन नभएको आफन्तले बताएका छन् ।

जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा युवराज आफै गम्भीर घाइते हुनुभएको आफन्तले बताएका छन् । रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बुलेन्स समेत क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

गम्भीर घाइते बनेका आचार्यको भदौ ३ गते बेलुका टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको दाजु झमप्रसाद आचार्यले बताउनुभएको छ । “दुर्घटनामा परेपछि अचेत बनेका भाइको होस अझै खुल्न सकेको छैन”, उहाँले भन्नुभयो, “आफूहरुसँग घाइते भाइको उपचारमा लाग्ने खर्च नभएकाले उनको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसँग आर्थिक सहयोगको याचना गरिएको हो ।”
दिक्तेलबजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको घरमा वृद्धा आमा, श्रीमती र दुई नाबालक छोरा छन् ।

निम्न आर्थिक अवस्थाका घाइते आचार्यको उपचारमा अहिलेसम्म करीब नौँ लाख खर्च भइसकेको जनाइएको छ ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका थिए । सामान्य घाइते बनेका ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयास स्वरुप खोटाङ सेवा समाज बेलायत (युके)ले २०७३ साल चैत २६ गते खोटाङलाई एकैसाथ सात वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । त्यसमध्ये निर्मलीडाँडाका लागि उपलब्ध गराइएको ट १ झ ५०१ नम्बरको एम्वुलेन्स दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया