आगोले पोलेको घाउमा किरा परेका बालकको उपचारार्थ आर्थिक सहयोग

Halesi Khabar

खोटाङ, १४ असोज ः आगोले पोलेको घाउमा किरा परेपछि अस्पतालमा पु¥याइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्तमनोस्थितिका १२ वर्षीय सुर्यप्रकाश राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । दुई महिनाअघि अगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा किरा परेर थलिएका बालकको उपचार गर्न किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले सङ्कलन गरेको रु एक लाख १४ हजार ४४८ सहयोग रकम मङ्गलबार उपलब्ध गराइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले पीडित बालकका बुबा कुन्दन राईलाई रकम हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग समितिले गत भदौ–१० गते समेत रु १५ हजार ८०५ प्रदान गरेको थियो ।

बालकको सहयोगार्थ सङ्कलित रकममध्ये केही रकम कृषि विकास बैङ्कको शाखा कार्यालयमा पीडितको नाममा खोलिएको खातामा जम्मा गरिएको सहयोग सङ्कलन समितिकी आर्थिक संयोजक सविता भुजेलले बताउनुभयो । आर्थिक अभावका कारण बेलामा उपचार नपाउँदा घाउमा किरा परेपछि भदौ–३ गते अस्पताल भर्ना गरिएको थियो ।

जन्मजात सेरेवल पाल्सीबाट पीडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो । बोल्न समेत नसक्ने बालकलाईे निको नहुने रोग लागेका कारण सुस्त भएकाले पटक–पटक अगेनामा परिसकेको स्थानीयवासीले बताएका छन् ।

निम्न आर्थिक अवस्था भएका सुर्यप्रकाशको लालन–पालनका लागि खर्च गर्न रकम सहयोग गरिएको सहयोग समितिका संयोजक राईले बताउनुभयो । घाउमा किरा परिसकेकाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले काठमाडौँस्थित किर्तिपुर अस्पताल लैजान सुझाव दिए पनि आर्थिक अभावकै कारण अन्यत्र लैजान नसकेको परिवारले जनाएको छ ।

सुस्तमनोस्थितिका सुर्यप्रकाश हिँडडुल समेत सक्दैनन् । अभियान्ता सञ्जयकुमार राई, सीता थुलुङ, सविता, किरणजीत, सुशिला निनाम लगायतको पहलमा बालकको उपचारका लागि सहयोग रकम जुटाइएको हो ।

बुबा कुन्दन नगरपालिकाको फोहोर सङ्कलन गर्ने मजदुरी काम गर्दै आएका छन् । आमाले चार वर्षअघि दोस्रो विवाह गरेर छाडेपछि सुर्यप्रकाश कान्छीआमा र बुबाको रेखदेखमा लफ्याङमै बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया