दशैँ तथा तिहारको अवसर पारेर सामुहिक काम गर्दै स्थानीयवासी

Halesi Khabar

खोटाङ, १४ असोज ः दशैँ तथा तिहार नजिकिएसँगै जिल्लावासी अहिले सडक, गोरेटोबाटो, धारा÷पँधेरा, मन्दिर लगायत सार्वजनिकस्थल मर्मत तथा सरसफाइमा व्यस्त छन् । चाडपर्वको अवसरमा आवत–जावत गर्ने पाहुनालाई लक्षित गरेर ग्रामिण क्षेत्रमा बसोबास गर्ने हरेक घरका एक÷एक जना स्थानीयवासी भेला भएर आफ्नो टोल भएका सामुहिक काम गर्ने प्रचलन छ ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लाको अधिकांश ठाउँमा अहिले सडक मर्मतको काम भइरहेको छ । जिल्लाका सबै ग्रामिण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले वर्षादका कारण अवरुद्ध छ ।

दशैँ तथा तिहारको अवसरमा घर आउने आफन्तहरु सहजै यातायातका सवारी साधनमार्फत आ–आफ्नो घरसम्म आइपुगोस भनेर सडक मर्मत गर्ने गरिएको स्थानीयवासीको भनाइ छ ।
स–साना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढ्दै गएपनि चाडपर्वको अवसरमा भने आफ्नो गाउँ आफै बनाउने अभियानमा जुट्छन् जिल्लाका ग्रामिण क्षेत्रमा बसोबास गर्ने स्थानीवासी ।

माझकिराँत भनेर चिनिने खोटाङको ग्रामिण क्षेत्रमा एकअर्काको चाडप्रति सम्मान गर्ने चलन छ । दशैँ, तिहार तथा छट पर्व हिन्दु नेपालीहरुको चाड भएपनि यतिबेला सडक मर्मत तथा सरसफाइमा सबै धर्मावलम्बी सहभागी छन् ।

यसै अवसर पारेर हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयवासी तीन दिनदेखि एक जुट भएर आफ्नो टोलको सडक मर्मतको काम गरिरहेका छन् । आफैले गर्न सकिने विकास निर्माणका काममा पनि सरकारी बजेट खोज्ने प्रवृत्तिको विकास भइरहेको समयमा धितुङका स्थानीयवासीले भञ्ज्याङदेखि कात्तिके हुँदै डिहिडाँडा–विजयखर्कसम्मको सडक मर्मत गर्न शुरु गरेको वडा सदस्य खेमराज कार्कीले बताउनुभयो ।

नगरपालिकाको केन्द्र र वडा नम्बर–११ राजापानीलाई जोड्ने लक्ष्यकासाथ गरिबी निवारण कोषको आर्थिक सहयोगमा वि.सं. २०७४ सालमा निर्माण गरिएको सडक वर्षाका कारण ठाउँ–ठाउँमा भत्किएको छ । स्थानीयवासीको सक्रियतामा अवरुद्ध सडकको खोल्सा÷खाल्सी पुर्नुका साथै तारजाली सहितको ग्याविन पर्खाल हाल्ने भइरहेको छ ।

अवरुद्ध सडक मर्मत गर्न धितुङका ६५ देखि ७० जना स्थानीयवासी दैनिक भेला भएर श्रमदान गरिरहेका छन् । सडक मर्मतकाक्रममा स्थानीयबासीले रु एक लाखभन्दा बढीको श्रमदान गरिसकेको वडा सदस्य कार्कीले बताउनुभयो ।

तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने उक्त सडक अहिले अवरुद्ध छ । धितुङसँगै जिल्लाका हरेक स्थानीय तहका स्थानीयवासी हप्ता दिनअघिदेखि नै आफ्नो टोलको सामुहिक काममा खटिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयवासी पनि अहिले आफ्नो टोल सरसफाइमा जुटेका छन् । पहाडी जिल्लामा पर्ने खोटाङमा यतिबेला खेतीपातीको काम समेत नहुने र शहरमा भएका व्यक्ति समेत चाड मान्न घर फर्किएर फुर्सदिला हुने हुँदा सामुहिक काम गर्ने गरिएको हो ।

दशैँ तथा तिहारलाई लक्ष्यित गरेर स्थानीयवासीले श्रमदानबाट आ–आफ्नो क्षेत्रको सडक मर्मत शुरु गरेपछि ग्रामिण सडकमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । जिल्लाको सबै जसो ग्रामिण सडक करीब छ महिना मात्र सञ्चालन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया