ग्रामिण सडक अवरुद्ध हुँदा चाड मान्न घर आवत–जावत गर्नेलाई सास्ती

Halesi Khabar

खोटाङ, १३ असोज ः अविरल वर्षाका कारण जिल्लाका सबै ग्रामिण सडक अवरुद्ध हुँदा दशैँ÷तिहार मान्न घर आवत–जावत गर्ने स्थानीयवासीलाई सास्ती भएको छ । हप्ता दिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका कुनै पनि ग्रामिण सडकमा अहिले सवारी साधन चल्न सकेको छैन ।

वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताउनुभयो । “जिल्लाका सबै ग्रामिण सडक कच्ची अवस्थामा छ”, उहाँले भन्नुभयो, “वर्षाका कारण ग्रामिण सडक अवरुद्ध हुँदा सबैभन्दा बढी दशैँ÷तिहार मान्न घर आवत–जावत गर्ने स्थानीयवासीलाई सास्ती भएको छ ।”

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दिक्तेल–निर्मलीडाँडा–चखेवाभञ्ज्याङ सडक खण्ड पनि अहिले अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालय खोटाङले दिक्तेल–निर्मलीडाँडा–चखेवाभञ्ज्याङ सडकलाई चालु अवस्थामा राख्न ठेकेदारलाई निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।

शहरबाट गाउँघरमा पुग्ने सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि दशैँ÷तिहार मनाउन घर फर्कने स्थानीयवासी घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । अहिले दिक्तेल–काठमाडौँ र दिक्तेल–इटहरी सडकमा मात्र सवारी साधन सञ्चालन भइरहेको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको छ । तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक समेत अवरुद्ध भएकाले दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा तीन वटा विमानस्थल रहेपनि अहिले दुई वटा मात्र सञ्चालनमा छ । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित थामखर्क र रावाबेँसी गाउँपालिका–३ स्थित लामीडाँडा विमानस्थल चालु अवस्थामा रहेको जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोका कारण अवरुद्ध छ । वि.सं. २०७५ साल जेठ १ गते राति परेको भारी वर्षाका कारण विमानस्थलको तल्लो भागमा पहिरोले क्षति गर्दा १६ महिनादेखि अवरुद्ध बनेको हो ।

धावनमार्गको किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०÷१५ मिटर डिल भासिनुका साथै फालिएको माटो बगाएको छ । भलबाढीका कारण क्षतिग्रस्त विमानस्थल मर्मतको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया