सबैलाई छमछमी नचाए जनवादी गायक जीवन शर्माले

Halesi Khabar

खोटाङ, १२ असोज ः बाहिर पानी परिरहेको थियो । हप्ता दिनदेखि लगातार परेको पानी र हिलोले हिँडिसक्नु थिएन दिक्तेलबजारको बाटो । हिलाम्मे बाटो छिचोलेरै पनि दर्शक तथा श्रोताले भरिभराउ भएको थियो कार्यक्रमस्थल ।

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आइतबार आयोजित कार्यक्रममा जनवादी गायक जीवन शर्मा मञ्चमा राखिएको हार्मोनियम नजिक उभिनुभयो । कपाल र दाह्री सेतै फुलिसकेको व्यक्ति मञ्चमा उभिएको देख्दा लागेको थिएन दर्शकलाई उहाँले गीत गाउनुहुन्छ भनेर ।

हार्मोनियम बजाउँदै पहिलो चरणमा चार वटा प्रगतिशील गीत गाउनुभएका गायक शर्माले दोस्रो चरणमा भने म्युजिक ट्र्याक बजाएर सरासर नौँ वटा गीत गाउनुभयो । ‘समाजवादी यथार्थवाद ः परिचय र मान्यता’ विषयक विचार गोष्ठीमा सहभागी हुन शनिबार दिक्तेल आउनुभएका गायक शर्माले ‘समयसँग सम्झौता हैन, सङ्घर्ष गर सङ्घर्ष, चाहिँदैन मलाई शिशाको महल, झरनाको चिसो पानी, यसपाली त यस्तै भो आमा, सिमली छाँयामा बसी…’ लगायत दर्जन बढी प्रगतिशील गीत गाउनुभयो ।

जिल्लामा पहिलो पटक जनवादी गायक शर्माले प्रत्येक्ष रुपमा प्रगतिशील गीत गाइरनुहँुदा राजनीतिक दलका नेता, संविधानसभा सदस्य, जनप्रतिनिधि, साहित्यकार तथा सर्वसाधारण स्वतःस्फूर्त धक फुकाएर नाचेका थिए । बीचबीचमा गीतले दिन खोजेको सन्देश समेत प्रस्ट्याउँदै गायक शर्मा आफै पनि सहभागीसँगै नाच्नुभयो ।

पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक सङ्घ खोटाङले आयोजना गरेको कार्यक्रममा गायक शर्मालाई सम्मान समेत गरिएको थियो । जिल्लास्थित साहित्यकारहरुको प्रस्तुति समेत रहेको कार्यक्रममा प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरीले गायक शर्मालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

गायक शर्माले गीतमार्फत समाज परिवर्तनको अभियानमा लागेकाहरुलाई थप उर्जा थप्नुभएकाले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको प्रलेसका जिल्ला सङ्घका अध्यक्ष चित्रकुमार सुवेदीले बताउनुभयो । “जनवादी गायक जीवन शर्मा आफैमा सरल र प्रगतिशील व्यक्ति हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँले जिल्लावासीलाई दिनुभएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो ।”

दुई दिनसम्म चलेको गोष्ठीमा ‘समाजवादी यथार्थवाद’ शीर्षकमा डाक्टर धनप्रसाद सुवेदीले लेख्नुभएको कार्यपत्रमाथि छलफल गरिएको थियो । साहित्यकार बम बानियाँले शनिबार पढेर प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि कवि तथा दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक वेदीकुमार राई र साहित्यकार हेमविक्रम राईले टिप्पनी गर्नुभएको थियो ।

कार्यपत्रमा समाजवादी साहित्य के हो ?, कस्तो हुनुपर्छ ?, समाजवाद भनेको के हो ? लगायतका विषय समेटिएको थियो । पारिजाल स्मृति केन्द्रका केन्द्रीय सदस्य मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’, र दुर्गाजयन्ती राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, उपन्यासकार सरल सहयात्री, जिल्लास्थित श्रस्टा तथा सर्जकको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपन्यासकार सरल सहयात्रीद्धारा लिखित उपन्यास ‘शिखरको ढुङ्गा’को परिचर्चा समेत गरिएको थियो । वि.सं. २०७५ सालमा प्रकाशित उपन्यासमाथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे र डिल्ली नाकाराले परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा हिन्दु नेपालीहरुको चाड दशैँ, तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान समेत गरिएको छ । प्रलेस खोटाङले आफ्नो स्थापना कालदेखि नै जिल्लामा विभिन्न साहित्यिक तथा सँगीतिक कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया