एम्बुलेन्स दुर्घटनाका घाइते पूर्व विद्यार्थीलाई पञ्च माविको सहयोग

Halesi Khabar

खोटाङ, १० असोज ः खोटाङको दिक्तेलस्थित पञ्च माविले एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते हुनुभएका सो विद्यालयका पूर्व विद्यार्थी युवराज आचार्यको उपचारार्थ आर्थिक सहयोग गरेको छ । गत असोज २ गते राति सप्तरीको कञ्चनपुर बेरियरमा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३५ वर्षीय आचार्यलाई विद्यालयका शिक्षक तथा कर्मचारीले संकलन गरेको रु एक लाख २५ सहयोग रकम शुक्रबार प्रदान गरेको हो ।

संकलित रकम विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले आचार्यको घरमा पुगेर आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गर्नुभएको शिक्षिका सीता थुलुङले जानकारी दिनुुभयो । शिक्षक तथा कर्मचारीबाट संकलन भएको रकममा विद्यालयकातर्फबाट रु चार हजार २५ थपेर आचार्य परिवारलाई प्रदान गरिएको प्रअ ढकालले बताउनुभयो ।

जिल्ला अस्पताल खोटाङले रेफर गरेको आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा आचार्य आफै गम्भीर घाइते हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । आफन्तलाई बचाउन अस्पताल लैजाँदै गर्दा दुर्घटनामा परी आफै चिन्ताजनक अवस्थामा पुग्नुभएका आचार्यको उपचारमा आर्थिक समस्या भएको जानकारी भएपछि विद्यालयले चन्दा उठाएर सहयोग गरेको हो ।

निम्न आर्थिक अवस्थाका आचार्यको भदौ ३ गते बेलुका टाउकोको सफल अप्रेशन गरिए पनि अवस्था चिन्ताजनक रहेको दाजु झमप्रसाद आचार्यले बताउनुभयो । दिक्तेलबजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।

दुर्घटनामा सोही नगरपालिकाको वडा नम्बर–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुङ्गाना पनि घाइते भएका छन् । खोटाङ सेवा समाज युके (बेलायत)ले प्रदान गरेको ट १ झ ५०१ नम्बरको एम्वुलेन्स दुर्घटना भएको हो ।

अस्पताल जान हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयास स्वरुप युकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ सात वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो । त्यसमध्ये वडा नम्बर–९ निर्मलीडाँडाका लागि उपलब्ध गराइएको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनापछि हालसम्म अचेत अवस्थामा रहनुभएका घाइते आचार्यको घरमा दुई नाबालक छोरा, श्रीमती र वृद्धा आमा हुनुहुन्छ । घरका अभिभावक नै दुर्घटनामा परेपछि आचार्य परिवारको बिचल्ली भएको छ ।

तपाईको प्रतिक्रिया