पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत अवरुद्ध

Halesi Khabar

खोटाङ, ४ असोज ः वर्षा रोकिएपछि गएको सुख्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिरोले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत अवरुद्ध भएको हो ।

दिक्तेल–गाईघाट ३३ केभी प्रशारणलाईनको विद्युत पोलमा पहिरोले क्षति गर्दा शुक्रबार बिहान सात बजेदेखि दुवै जिल्लामा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताउनुभयो । “पहिरोले चार वटा पोल पूर्ण रुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ”, उहाँले भन्नुभयो, “अवरुद्ध विद्युत पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्री सहित प्राविधिक टोली घटनास्थल पठाइएको छ ।”

हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुख्खा पहिरोका कारण अवरुद्ध विद्युत कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरण समेत बेखबर छ । दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् ।

विद्युत अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार÷व्यवसाय तथा बैङ्क तथा वित्तीय करोवार प्रभावित भएको छ । दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

एक नम्बर प्रदेशमा पर्ने खोटाङ र ओखलढुङ्गामा बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत विस्तार गरिएको छ । दुई जिल्लामा विस्तार गरिएको विद्युत लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको हो ।

विद्युत लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घना जङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुई जिल्लामा विद्युत अवरुद्ध हुने गरेको छ ।

पटक–पटक अवरुद्ध हुँदै आएको विद्युतको दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएको प्रति विद्याुत उपभोक्ता आक्राशित बनेका छन् । यसअघि विस्तार गरिएको ११ केभी प्रशारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो ।

पटक–पटक अवरुद्ध भइरहने विद्युत मर्मत गर्नेक्रममा विद्युत प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेर बिचल्ली बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया