रतन्छाको प्रत्येक घरमा माछापोखरी, पकेट क्षेत्र बनाउने गाउँपालिकाको तयारी

Halesi Khabar

खोटाङ, ४ असोज ः सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएको पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिको माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीको प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ ।

जताततै प्रयाप्त पानीको स्रोत रहेको रतन्छामा वि.सं. २०५४ सालमा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको थियो । जिल्लाको दक्षिणपूर्वी भेगमा पर्ने रतन्छामा ५५६ घर स्थानीयवासीको बसोबास छ ।

झण्डै तीन दशकदेखि आफ्नै लगानीमा माछापालन व्यवसाय गर्दै आएका रतन्छाबासीका लागि गत वर्ष गाउँपालिकाको तर्फबाट दुई लाख ५० हजार माछाका भुरा ल्याएर वितरण गरिएको कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । रतन्छामा अहिले वार्षिक रुपमा दश हजार किलोग्राम भन्दा बढी माछा उत्पादन हुने र सो माछा सोठी ठाउँमा पखत हुने गरेको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारसँग जोडिएको रतन्छाका वडाध्यक्ष उन्नत राईको घरमा मात्रै तीन वटा माछापोखरी छ । उहाँका अनुसार गत वर्ष एउटै पोखरीबाट एक पटकमा ९० किलोग्राम माछा निकालेर बिक्री गरिएको थियो ।

आफ्नो गाउँलाई अर्गानिक क्षेत्र बनाउने अभियानमा लागेका रतन्छाका अधिकांश स्थानीयवासीले आफै उपभोग गर्न आ–आफ्नो घरमा माछापालन व्यवसाय गरेको स्थानीयवासी एवम् सामाजिक अभियान्ता कविकुमार राईले बताउनुभयो । “रतन्छामा उत्पादन भएको माछा गाउँमै खपत हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा अहिलेसम्म आयातित र गुणस्तरहीन माछा उपभोग गर्नुपरेको छैन । यसले गर्दा स्वास्थ्य र आर्थिक बचत दुवैमा सघाउ पुगेको हामीले महशुस गरेका छौँ ।”

माछा विशेषज्ञ डाक्टर आशकुमार राईको जन्मथालो समेत रहेको रतन्छामा स्थानीय युवाको सक्रियतामा सामुहिक लगानी गरेर व्यवसायिक माछापालन समेत गरिएको छ । रतन्छाका तेह्र जना स्थानीय युवा मिलेर आफ्नो व्यक्तिगत लगानीमा दुई वर्षअघिदेखि व्यवसायिक माछापालन व्यवसाय शुरु गरेका हुन् ।

रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर उनीहरुले पहिलो चरणमा १३ वटा पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । यसभन्दा अघि विभिन्न पेशा तथा व्यवसायमा आवद्ध उनीहरु आफ्नै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन शुरु गरेका हुन् ।

समुन्द्री सतहदेखि करीब एक हजार ५०० मीटर उचाईमा पर्ने रतन्छालाई माछाको पकेट क्षेत्र बनाउने योजना बनाइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “गाउँपालिकाले एक गाउँ, एक उत्पादन भन्ने नीतिलाई अङ्किार गरेको छ”, उहाँले भन्नुभयो, “रतन्छा माछाका लागि उपयुक्त ठाउँ भएकाले पकेट क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेका छौँ ।”

जिल्लाको सबैभन्दा थोरै पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा माछा, मौरी तथा पशु÷पञ्छी पालन, आलु, मकै, गहुँ, धान, कोदो, फलफुल तथा तरकारी, लगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान थालिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसाय गर्न कृषक समूह नै गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमा हालसम्म ६८ वटा कृषक समूह गठन गरिएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभएको छ । गाउँपालिकाले प्रत्येक कृषक समूहलाई आवश्यक सीप तथा तालिमका साथै आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

व्यवसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तरगत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । यस वर्ष कृषिलाई नै पहिलो प्राथमिकतामा राखेर रु एक करोड ११ लाख ३७ बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया