साकेला गाउँपालिकाको एउटै वडामा रु दुई करोडको आलु उत्पादन

Halesi Khabar

खोटाङ, २ असोज ः जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिकाको वडा नम्बर–३ खिदिमामा यस वर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रति किलोग्राम रु ३० मा घरबाटै बिक्री हुने आलु यस वर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तिमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन भएको स्थानीय कृषक गोविन्द तामाङले बताउनुभयो । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोबास गर्छन्”, उहाँले भन्नुभयो, “अन्य बाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तिमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यस वर्ष साँढे सात हजार क्विन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । “आलुबाट मात्रै प्रति घर परिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उहाँले भन्नुभयो, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुन्द्री सतहदेखि करीब दुई हजार फुट अग्लो भूभागमा पर्ने खिदिमामा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरिद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरिद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीहरुले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा संघीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक कृषकलाई संगठित गरेर टोलटोलमा समूह समेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी कृषक समूहले गत वर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताउनुभयो ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलोग्राम हुने कृषकले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरिद तथा बिक्री हुने गरेको छ ।

खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्राजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने कृषकको दाबी छ ।

खिदिमा लगायत माथिल्लो भेगमा आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।”

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम लगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफुल तथा तरकारी, माछा, मौरी तथा पशु÷पञ्छी पालन लगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि कृषक समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमा २९ वटा कृषक समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालिमका साथै बीउ÷बीजन, उन्नत जातको पशु तथा पञ्छी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यवसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तरगत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया