अदुवाको मुल्य अहिलेसम्मकै उच्च ः बजारमा उपभोक्ताबीच लुछाचुडी

Halesi Khabar

खोटाङ, ३१ भदौ ः कृषकले खेती गर्न छाडेपछि यस वर्ष खोटाङमा अदुवाको मुल्य अहिलेसम्मकै उच्च भएको छ । बिगत वर्षहरुमा प्रति केजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मुल्य बढेर प्रति केजी रु २०० देखि २२० सम्ममा खरिद तथा बिक्री भइरहेको छ ।

यतिसम्म कि खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा जिल्लामा मसलाको रुपमा प्रयोग गरिन्छ ।

विकसित शहरहरुमा अदुवाबाट केण्डी, सुठो, जुस लगायत विभिन्न परिकार बनाइएपनि खोटाङमा प्रविधिको अभावमा मसलाको रुपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको खोटाङ जिल्लामा अदुवालाई मसलाको साथै पितृ कार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।

पछिल्लो दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृ कार्यमा प्रयोग गर्न समेत समस्या भएको जिल्लावासीले बताएका छन् । जिल्लाका किराँत राई र मगर समुदायले आफ्नो पितृ कार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् ।

आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि बिगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताउनुभयो । “यसअघि उद्योग वाणिज्य सङ्घले खरिद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवा खेती गरियो”, उहाँले भन्नुभयो, “पछि आएर वाणिज्य सङ्घले खरिद नगरेपछि कुहिर नष्ट भएपछि अहिले खेती नै गर्न छाडियो ।”

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरिद नगर्दा एक जना कृषकको कम्तिमा पनि चार÷पाँच क्विन्टल कुहिएर खेर गएको थियो । सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यवसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घ समेत गठन गरेको थियो ।

जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।

यसअघि आफूले उत्पादन गरेको अदुवा रु दशमा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो । “वाणिज्य सङ्घले खरिद गर्ने भनेको अदुवा जिल्लामा बिक्री नभएपछि केही बाहिर निर्यात ग¥यौँ”, उहाँले भन्नुभयो, “बाहिर निर्यात गर्दा समेत फाइदा नभएपछि खेती नै गर्न छाडिएको हो ।”

खोटाङ अदुवा उत्पादनका लागि उपयुक्त भूगोल रहेपनि बिक्री नभएपछि कृषकहरुले खेती गर्न छाडेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख दिनेशप्रसाद यादवले बताउनुभयो । “हावापानीको हिसाबले खोटाङ जिल्ला अदुवाका लागि उपयुक्त भूगोल छ”, उहाँले भन्नुभयो, “अदुवालाई प्रशोधन तथा बजारीकरण गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने सम्भवाभना देखिन्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म सबै स्थानीय तहका कृषकले अदुवा खेती गर्दै आएका थिए । आफूहरुले उत्पादन गरेको अदुवा बिक्रीका लागि सम्बन्धित निकायले कुनै चासो नदिएपछि खेती गर्न छाडेको कृषकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया