दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम ४५ प्रतिशत सकियो

Halesi Khabar

खोटाङ, २४ भदौ ः कालोपत्रेको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशत भन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु. २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रेको काम थालिएको हो ।

करीब ११ किलोमिटर लम्बाई रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताउनुभयो । “कालोपत्रे गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइ सकिएको छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरि कालोपत्रेको कामलाई तीव्रता दिइएको छ ।”

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मीटर चौडाई रहने र तीन दशमलव ७५ मीटर भाग कालोपत्रे गरिने सम्झौतामा उल्लेख छ । १८ महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरि गत असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दशैअघि कम्तिमा पनि छ किलोमीटर सडकमा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताउनुभयो । यो सडक गत मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिक रुपमा शिलान्यास गर्नुभएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निक्कै महत्वमा साथ हेरिएको छ । यसअघिसम्म हिउँदको समयमा छ महिनामा मात्र सञ्चालन हुने सो सडक ढिलै भएपनि कालोपत्रेको काम थालिएछि जिल्लावासी हर्षित भएका छन् ।

दिक्तेल–खानीडाँडा सडक कालोपत्रे भएर सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने र दैनिक उपभोग्यवस्तुको मुल्य समेत घट्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “दिक्तेल–खानीडाँडा सडक अवरुद्ध हुँदा दिक्तेलबाट महुरे हुँदै रेग्मीटार पुग्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यो सडक सञ्चालनमा आएपछि दैनिक उपभोग्यवस्तु ढुवानी तथा तराईका जिल्ला आवतजावतमा सहज हुनेछ ।”

दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थल सोही सडक खण्डको खाल्लेमा पर्छ । हिउँदमा मात्र सञ्चालन हुने सो सडक खण्डमा करीब छ महिना यातायात सञ्चालन नहुँदा जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र रिफर गरिएका बिरामीलाई विमानस्थलसम्म पु¥याउन स्ट्रेचर प्रयोग गर्नुपर्ने अवस्था छ ।

दिक्तेलबाट करीब दुई घण्टाको पैदल यात्रापछि पुगिने खानीडाँडा विमानस्थल पुग्न सडक अवरुद्ध भएका कारण समयमा पु¥याउन नसक्दा यसअघि एक महिलाको अकालमै ज्यान गएको थियो । वि.सं. २०७३ साल भदौ १९ गते हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी टलकुमारी राईको जिल्ला अस्पतालबाट रिफर गरिएपछि खानीडाँडा विमानस्थलबाट काठमाडौँ पठाउन लैजानेक्रममा बाटैमा मृत्युभएको हो ।

तपाईको प्रतिक्रिया