दुवै हात नभएकी संघर्षशील सम्झना ः ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु !’

Halesi Khabar

खोटाङ, २२ भदौ ः दुवै हात नभएकी सम्झना राईले आज (आइतबार) दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा–१२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा–१२ को नियमित परीक्षामा अङ्ग्रेजी विषय अनुत्र्तीण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो ।

मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङबजारस्थित भगवती दिनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो । निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहिन जन्मनुभएकी सम्झना उसो त सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आउनुभएको थियो ।

अहिले आमासँगै मावलीघर सोही गाउँपालिकाको वडा नम्बर–६ मा पर्ने इन्द्रेणीपोरी बस्दै आउनुभएकी सम्झना आफै कपडा लगाउन, फेर्न तथा खाना खान सक्नुहुन्न । कुमदेखि नै हातको नक्सा समेत नभएका सम्झना खुट्टाकै भरमा सबै काम गर्नुहुन्छ ।

भगवती दिनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीको रुपमा रहनुभएकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण हुनुभएको छ । दुवै हात नभएपनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उहाँको भनाइ छ ।

घरबाट एक घण्टा बढीको बाटो हिँडेर विद्यालय आवत–जावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको पनि उहाँले सुनाउनुभयो । उहाँ भन्नुभयो, “विद्यालय टाढा भएको कारण शुरु–शुरुमा पढाइ छाडौँ की भन्ने लागेको थियो तर, मनले मान्दै–मानेन । जसरी भएपनि पढ्नैपर्छ भन्ने लागेर दुःख–कष्ट गरिरहेकी छु ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा आएर मौका परीक्षा दिइसकेपछि रासससँग कुरा गर्दै उहाँले भन्नभयो, “दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर, अहिले छोड्नुभो, बुनुहरु पढ्दै छन् । शारीरिक रुपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु ।”

घरायसी काममै अल्झिनु भएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उहाँले सुनाउनुभयो । “आजसम्म त सबैको साथ सहयोगबाट पढियो तर, अब…! ।” गला अवरुद्ध पार्दै बोली नसक्दै अड्किनुभयो ।

सम्झनाको अबको अध्ययन यात्रा निश्चितै त छैन तर, सम्झनासँग लगनशीलता, धैर्यता र आत्मबल देखिएको छ । “शारीरिक हिसाबले म जस्ता र म भन्दा कमजोर अवस्थाकाहरुले पनि धेरै राम्रा र ठूलो काम गरेर नाम कमाएका छन्”, उहाँ भन्नुहुन्छ, “मैले झमककुमारी घिमिरे लगायतका धेरै व्यक्तिहरु शारीरिक रुपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु । उहाँहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ ।”

झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उहाँले सुनाउनुभयो । “धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ । उहाँले भेट्न बोलाउनुभएको रहेछ ।” उहाँले भन्नुभयो, “झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु । उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ । उहाँले लेख्नुभएको ‘जीवन काँडा की फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि ।”

झमकुमारीले लेख्नुभएको उक्त पुस्तकले आफूलाई जीवन र संघर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ । सबैको मायाँ र साथ पाए आफू पनि देश र समाजको लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उहाँको भनाइ छ ।

सम्झनाको अध्ययनलाई निरन्तर अघि बढोस् भन्नका लागि यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेको छ । करीब चार वर्षअघि खोटाङमा जन्मेर बेलायत (युके)लाई कर्मथलो बनाएका समाजसेवीहरुको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले रु चार लाख ६९ हजार ७६० सहयोग रकम प्रदान गरेको थियो ।

समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म व्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउनेगरि चेक प्रदान गरेका थियो । युकेमा बसोबास गरिरहेका खोटाङ्गेबाट संकलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो ।

पढाइसँगै गीत÷सँगीत र साहित्यसँग समेत रुची राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेण्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ । नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया