दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने

Halesi Khabar

 

खोटाङ ः खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार १५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका छन् ।

खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको १४ गरि एक हजार १५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका हुन् ।

नेपाल विद्युत प्राधिकरण, इन्जिनीयरिङ सेवा निर्देशनालयले शनिबार खोटाङको दिक्तेलमा आयोजना गरेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन (ईआईए)का बारेमा गरिएको सार्वजनिक सुवाईका क्रममा एक हजार १५० घरधुरीमध्ये १६२ घर पूर्णरुपमा क्षति पुग्ने जनाइएको छ ।

रु दुई खरब २० अरबको लगानीमा सम्पन्न हुने जलाशययुक्त जलविद्युत आयोजनाबाट दुई वटा पक्की तथा १२ वटा झोलुङ्गे पुल, दुई वटा लघु जलविद्युत आयोजना, एउटा साना जलविद्युत आयोजना, छ वटा हिन्दु मन्दिर र चार वटा विश्रामस्थल डुबानमा पर्ने आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले बताउनुभयो ।

करीब १९ किलोमिटर क्षेत्रफलमा फैलिने जलाशययुक्त जलविद्युत आयोजनाबाट सात लाख दश हजार १० बर्ग मीटर खेतीयोग्य जमिन, तीन हजार ३२० बर्ग मीटर क्षेत्रफल जमिनमा लगाइएको फलफूलको बगैँचा, ४६ लाख ८६ हजार ७२९ बर्ग मीटर क्षेत्रफल रहेको सिँचित जमिन (खेत), दश लाख २२ हजार ८७० बर्ग मीटर पाखोबारी, एक हजार २२२ बर्ग मीटर क्षेत्रफल रहेको माछामार्ने ठाउँ, एक लाख ५५ हजार ४४३ बर्ग मीटर नीजि वन र ३४ हजार ३२१ बर्ग मीटर क्षेत्रफलमा फैलिएको सामुदायिक वन डुबानमा पर्ने जनाइएको छ ।

२२० मीटर अग्लो बाँध निर्माण गरिने जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

आगामी कातिक अन्तिम तथा मङ्सिर पहिलो हप्ताभित्र पूरा हुने डिपिआरको काम अन्तरगत अहिलेसम्म फिजिबिलिटी रिपोर्ट तयार भएको, ड्राफ्ट डिटेल्ड डिजाइन, ड्राफ्ट टेन्डर डकुमेन्ट प्राप्त भएको, प्यानल अफ एक्स्पर्टस्बाट रिभ्यू भएर कमेन्ट प्राप्त भइसकेको जनाइएको छ । टिओआर र स्कपिङ डकुमेन्ट स्वीकृत भएको तथा ड्राफ्ट इआइए रिपोर्ट प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

३० महिनामा पूरा गर्नेगरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले वि.सं. २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम शुरु गरेको थियो । लामीडाँडाको रभुँवाघाटमा बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने तयारी गरिएको हो ।

लामीडाँडा विमानस्थलबाट करीब ११ किलोमिटर उत्तर–पश्चिममा पर्ने रभँुवाघाटमा सञ्चालन हुने जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न तीन जिल्लाका सांसदले माग गरेका छन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समिक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत आयोजनालाई समावेश गरेपनि दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैङ्क एडिबिलाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।”

जापान सरकारको सहयोगमा कोशी बेशिन अध्ययन गुरुयोजना अन्तर्गत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत प्राधिकरणले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।

जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका सहअध्यक्ष रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाज गठन गरिएको छ ।

सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र टेन्डरका काजपत्र बनाउन एडीबीले चालू आर्थिक वर्षमा रु. ३५ करोड अनुदान दिएको थियो ।

दूधकोशी जलाशययुक्त आयोजनाका लागि उर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो दिनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभएको छ । आर्थिक वर्ष २०७५ र ०७६ को मध्येसम्ममा आवेदन (टेन्डर) आह्वान र सम्झौता गरेर आर्थिक वर्ष २०७६ र ०७७ देखि निर्माणको काम शुरु हुने विद्युत प्राधिकरणले जनाएको छ ।

डिपिआरको अन्तिम रुप दिन अहिले तीनै जिल्लाका स्थानीयवासी, सरोकारवाला व्यक्ति तथा जनप्रतिनिधिहरुबाट सुझाव सङ्कलनको काम भइरहेको जनाइएको छ । शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सहभालमा आयोजना गरिएको कार्यक्रममा सांसद भट्टराई, संविधानसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, विज्ञ टोली, सरोकार समाजका अध्यक्ष पौडेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया