कुकुर हत्या प्रकरण ः पशु अधिकारकर्मी स्थानीयवासीको नियन्त्रणमा

Halesi Khabar

खोटाङ, १७ भदौ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुकुर मारिएको विषयमा मुद्दा दर्ता गरेर फर्किएका पशु अधिकारकर्मीको टोलीलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । गत शनिबार दिक्तेलस्थित त्रिवेणीचौकमा कुकुरलाई कुटेर बिभत्स हत्या गरेको भिडियो सार्वजनिक भएपछि नगरप्रमुख दिपनारायण रिजालसहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएर फर्किएका टोलीलाई मङ्गलबार वडा नम्बर–१३ नुनथलाबाट नियन्त्रणमा लिएको हो ।

फेसबुकमार्फत भिडियो सार्वजनिक गर्ने बाजिन्द्र बिस्टसहित पशु अधिकारकर्मीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी नुनथलामा राखिएको स्थानीयवासी दिनेश राईले बताउनुभयो । नगरवासीको हितबिपरित पशु अधिकारकर्मीले पशु अधिकारको नाममा मानव अधिकार हनन् गरेकाले नियन्त्रणमा लिइएको स्थानीयवासीले बताएका छन् ।

घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्दयी व्यवहार गर्नुका साथै निर्ममतापूर्वक मारेको भन्दै खोटाङकै जन्तेढुङ्गा गाउँपालिकाका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ, नेपाल भेटेनरी एसोसिएसनका डाक्टर सीताराम यादवले नगरप्रमुख रिजाल सहित तीन जना विरुद्ध उजुरी दिएर काठमाडौँ फर्किएका थिए । स्थानीयवासीले नियन्त्रणमा लिएको टोलीलाई नुनथला प्रहरी चौकीमा सुरक्षा दिएर राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभएको छ ।

चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षी सम्वन्धी कसुर बमोजिम अपराध भएकाले सो अनुुसार कानूनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा शनिबार बिहान एउटा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मी दिक्तेल आएको थियो ।

नेपाली काँग्रेसका युवा नेता समेत रहनुभएका बिष्टको फेसबुकमार्फत सार्वजनिक भएको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जना व्यक्तिले भुस्याहा कुकुरलाई दाम्लोले बाँधेर राखेको र अर्को जनाले चिरुवा दाउराले टाउकोमा हिर्काएर मारेको देखिएको छ । नगरप्रमुख रिजालको सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेर मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्नेक्रममा कुटपिटगरि मारिएको जानकारी आएको जनाएको छ ।

बजारमा भुस्याहा कुकुरले बिहान र रातका समयमा हिँडडुल गर्नेक्रममा टोक्ने र आतंक फैलाएकाले नियन्त्रण गर्ने निर्णय गरिएको भए पनि पशु अधिकार उल्लङ्घन गर्ने काम नभएको नगरप्रमुख रिजालले बताउनुभयो । कुकुरलाई कुटेर मारिएको भिडियो सार्वजनिक भएपछि हाल फेसबुकमा पक्ष र विपक्षबीच जुहारी चलिरहेको छ ।

तपाईको प्रतिक्रिया