मनकारी वडाध्यक्ष लीलाकुमार चौहान, आफूले पाएको पारिश्रमिकमा रु एक लाख दश हजार थपेर सामाजिक संस्थालाई प्रदान

Halesi Khabar

खोटाङ, ९ भदौ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्ता बापतको रकम सामाजिक सङ्घ÷संस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख दश हजार थपेर सामाजिक सङ्घ÷संस्थालाई प्रदान गर्नुभएको हो ।

वडामा गठन भएको १३ वटा आमा समूहलाई रु दश÷दश हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु दश हजार, नेवाँ पुँच खललाई रु ५० हजार, वडाध्यक्ष चौहानले अभिभावकत्व ग्रहण गर्नुभएको छात्र नीरकुमार खत्रीलाई रु दश हजार र धामीलाई रु तीन हजार प्रदान गर्नुभएको वडासदस्य हरि चाम्लिङले बताउनुभयो । आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिना ब्याज चलाउन दिनेगरि प्रदान गरिएको हो ।

बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सँगिनी नृत्य टोलीका लागि साडी खरिद गर्न सहयोग गर्नुभएको जनाइएको छ । वडा कार्यालयमा आइतबार दिउँसो आयोजना गरिएको कार्यक्रममा प्रत्येक आमा समूहका अध्यक्ष र वडाबीच प्राप्त रकम फजुल खर्च नगर्ने सर्तमा दोहोरो सम्झौता समेत गरिएको छ ।

उमेरले भर्खर ३३ वर्षका हुनुभएका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकम समेत सामाजिक काममै खर्च गर्ने बताउनुभएको छ । “आफू राज्यको तलब खान नभइ जनताको सेवा गर्न जनप्रतिनिधि बनेको हुँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा राज्यबाट आउने तलबभत्ता समेत जनताकै भलाइमा खर्च गर्नेछु ।”

वडाअध्यक्ष चौहानले गत वर्ष प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घ÷संस्थालाई प्रदान गर्नुभएको थियो । उहाँले आफ्नो वडामा गठन भएका १३ वटा टोल विकास समितिलाई जनही रु दश÷दश हजार रकम प्रदान गर्नुभएको थियो ।

समितिलाई घुम्ती कोष सञ्चालन गर्न सघाउ पु¥याउने उद्देश्यले आफूले राज्यबाट पाएको पारिश्रमिक बापतको रकम उपलब्ध गराइएको वडासचिव चिरञ्जीवी आचार्यले बताउनुभयो । भारतीय सेनाका पेन्सनर समेत रहनुभएका वडाअध्यक्ष चौहानले आफ्नो स्वर्गीय बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको थियो ।

गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताउनुभएको छ । उक्त अक्षयकोषबाट यस वर्ष कक्षा–१० मा अध्ययनरत छात्रा करुणा चौहान र कक्षा–९ मा अध्ययनरत छात्र युमन राईलाई जनही रु चार हजार ५०० का दरले छात्रवृत्ति उपलब्ध गराइएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा जातीय सँस्कार÷सँस्कृतिसँग सम्बन्धित परम्परागत सामग्री समेत हस्तान्तरण गरिएको छ । किरात राई समुदायका लागि साकेला सिली प्रदर्शनमा प्रयोग हुने ढोल, झ्याम्टा, चम्मर र छिरलिङ, दमाईका लागि पञ्चेबाजा र हिन्दु महिलाका लागि सँगिनी नृत्यमा प्रयोग हुने रातो साडी प्रदान गरिएको हो ।

राई र दमाई समुदायका लागि रु ७५÷७५ हजार तथा हिन्दु महिलाका लागि रु दुई लाख ८८ हजारमा ७२ वटा साडी खरिद गरेर प्रदान गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । वडा कार्यालयको जातीय सँस्कार÷सँस्कृति संरक्षण शीर्षकमा छुट्याइएको बजेटबाट खरिद गरिएको परम्परागत सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता दिलचक्र राई, पूर्व वडासचिव तेजनाथ ढकाल लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

विभिन्न जातजातिको साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै युवा नेता राईले वडाध्यक्ष लगायतको टोलीले परम्परागत सामग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताउनुभयो । “सँस्कार÷सँस्कृति संरक्षणमा वडा नम्बर–८ ले महत्वपूर्ण काम गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई प्रवद्र्धन गरेर वडा नम्बर–८ बुवालुङलाई साँस्कृति पर्यटनको केन्द्र बनाउन सकिन्छ ।”

कार्यक्रममा गाउँ विकास समिति (गाविस) हुँदादेखि वडा भएसम्म करीब दश वर्ष काम गर्नुभएका पूर्व वडासचिव ढकाललाई सम्मान तथा विदाई समेत गरिएको छ । मायाँको चिनो करुवाको साथमा सम्मानपत्र प्रदान गरेर विदाई गरिएको हो ।

तपाईको प्रतिक्रिया