पुरोहित बा ! टंक आचार्य जातबाट खसेकै हुन् त ?

Halesi

भीम राई पृथ्वीमा मानिस जन्मेपछि मर्छ यो शास्वत सत्य हो । तर जन्मेपछि मानिसका हरेक कर्महरु उसको सँस्कार र सँस्कृतिमा आधारित भएर रहने गर्छ । जुन ठाउँमा उ जन्मेको छ । उसको समाजले बनाएका सामाजिक सँस्कारलाई उसले ग्रहण गर्दछ । यो संस्कार उसकालागि निकै प्यारो लाग्ने मात्र हैन उसलाई जीवित छु भन्ने बनाउन निकै नै कामयामी रहन्छ । हिजोका दिनमा सँस्कार सँस्कृतिको शुरुवाति कुनै चलाख पण्डित वा पादरीहरुले निर्माण गरेका छन् । समाज विकास सिद्धान्तका आधारमा हेर्दा सँस्कार सँस्कृति र भाषाको विकास हुनु निकै लामो समयको अभ्यास हो । यीनै अभ्यासले आज आम मान्छेहरु एकले अर्कालाई माया ममता गर्ने गर्छन् । सृष्टिका नयाँ आयामहरु थप्दै जाने गर्छन् । विश्व ब्रम्हण्डमा भएका प्रत्येक वस्तुहरु चाहे त्यो जीवित होस् या निर्जिव सबैले आ–आफ्नो अस्तित्वको खोजि गर्दछ । आफ्नो अस्तित्व आफैसँग निहित रहेछ भने मात्र उ आफूलाई सुरक्षित ठान्छ । बाँकी जहिल्यै आफूलाई असुरक्षित नै महसुश गर्ने हो । खोटाङ जिल्लामा भर्खरै एउटा सामाजिक घटना भयो । जिल्ला समन्वय समिति खोटाङले गत जेठ–१८ गते खोटाङ खाल्लेमा आयोजना गरेको सहभोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल फुलबारीटोलका ७६ वर्षीय टंकप्रसाद आचार्य सहभागी भए । जिल्लाका प्रतिष्ठित व्यक्तिहरु भेला जम्मा भएको कार्यक्रममा सबैले सामुहिक भोज खाए । उनले भेलामा मानिसमा ठूलो र सानो जात भन्ने विषय नै नभएको भाषण गर्दै थिए । उनलाई कचौरा ल्याएर दहि दिईयो । उनले ‘नारायण श्री कृष्ण अर्पणम’ भन्दै दही पिए । यसले सामाजिक रुपमा एउटा सकरात्मक सन्देश दियो । जिल्लाका सबैजसो राजनीतिक दलका नेताहरु उपस्थिती रहेको सहभोजमा जिल्लाका दलित अगुवा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष चर्च विकले प्रदेश सरकारका मुख्य मन्त्रि शेरधन राईलाई दलितको छोरी विहे गर्नेसम्म सुझाउन भ्याए । त्यो जुरेको समय १ नम्बर प्रदेशलाई छुवाछुतमुक्त प्रदेश बनाउने प्रदेश सरकारको अभियान अन्र्तगत थियो । तर यसको परिणाम आचार्य बा’लाई असार २७ गतेमात्र थाहा भयो । जुनदिन उनले आफ्नो सँस्कार अनुसार पितृको श्राद्ध गर्नु थियो । २६ गते नै कपाल काटेर उनी एकछाकी बसेका थिए । २७ गते उनको पुरेत लफ्याङबाट आउनु पर्ने वसन्त घिमिरे (उनी लफ्याङ नामी पुरेत डिल्लीराम घिमिरेका छोरा हुन् ।) आएनन् । उनले निकै समय पर्खे तर पुरेतको कुनै अत्तोपत्तो नभएपछि उनलाई ठुलो आत्मग्लानी भयो । उनले सहभोजमा निम्ता दिने र जान प्रेरित गर्नेहरुलाई फोन गरेर समस्या सुनाए । उनले आफूले पितृ श्रद्धा गर्न नपाए अन्य दुर्घटना हुन सक्नेसम्म बताए । यसपछि शुरु भयो सदरमुकाममा पुरोहितहरुको हाहाकार । जता जुन पुरोहितलाई फोन ग¥यो भेटिन्न । पुरोहितहरु दिक्तेलमा एका एक गायब भएपछि नगरप्रमुखदेखि जिल्लाबाट निर्वाचित माननीयहरुलाई समेत यो समस्याले तनाव थपिदियो । जिल्लामा भएका पुरेतहरुको अप्रत्यक्ष एउटै स्वर थियो दलितले छोएको खाएर जात छाडेकाले उनकोमा पूजापाठ गर्नु आफै बिटुलिनु हो । ब्राम्हणहरुको एउटै बुझाइ भएपछि आचार्य बा’को पितृकार्य रोकिने संभावना बढेर गयो । बा ले फेरी फोन गरेर नेताहरुलाई भने, ‘दिउँसो ४.०० बजे भित्र कुनै पुरेत आएनन् भने म आत्महत्या गर्छु । यसको समाधान खोज्नु ।’ यस्तो कुरा आएपछि नेताहरुलाई झन तनाव हुने नै भयो । अन्ततः निकै ठूलै सोर्स लगाएर नेर्पाका चित्रकुमार सुवेदीलाई आचार्यको पितृश्राद्ध गर्न पठाइयो । सुवेदीले पनि पुजागर्ने पुस्तक पढे पुजा सकियो । टिका टालो भने उनले समेत अलग्गै बसेर अरुलाई नै लगाउन लगाए । र उनले यो गर्जोमात्र टारेको भन्दै अर्को पटक देखि व्यवस्था गर्न आचार्य बालाई सुझाए । यसपछि आचार्य बा’लाई जिल्लामा सम्मान पनि गरियो । यस अघि असार १८ गते नगरदिवसको अवसरमापनि नगरपालिकाले उनलाई सम्मान गरेको थियो । यसै क्रममा हिन्दु धर्मावलम्बीको अर्को पर्व कुशे औँशी साउन १६ गते आइपुग्यो । त्यसदिन टंक आचार्य बा’को घरमा कुस लिएर पुरेत आएनन् । उनलाई हिनताबोध र फेरी आत्मग्लानी बढ्यो । उनले केही गुुनासो गरे, ‘फेरीपनि पुरेतले विभेद गरे ।’ यसो त सहभोजमा सहभागी भएपछि आचार्यलाई गाउँकै दाजुभाइले समेत अप्रत्यक्षरुपमा बहिस्कार गरेका थिए । आचार्यलाई गाउँमा हुने धार्मिक तथा साँस्कृतिक कार्यक्रममा निम्तो समेत गर्न छाडेपछि नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र खोटाङ दलित विकास मञ्चले जिल्ला प्रशासन कार्यालयमा असार २ गते चारजना विरुद्ध उजुरी दिएको थियो । जिल्ला प्रशासनमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा पक्ष र विपक्षबीचमा भएको छलफलपछि साउन–७ गते मिलापत्र समेत गरिसकिएको हो । तर कुसे औँशीमा किन पुरेतले कुस ल्याएनन् । नागपञ्चमीमा नाग टाँस्न आएनन् । यो निकै जटिल प्रश्न बनिरहेको छ । नेपालको संविधानले जातीय विभेदको अन्त्य गर्ने संघघोष गर्दछ । एक्काइसौँ शताब्दीमा जातीय छुवाछुत र लिङ्गीय विभेद हुन नहुने कानुनी व्यवस्था छ । विभेदजन्य कुनैपनि कुरा गर्न कानूनले बर्जित छ । तर एक्काईसौँ शताब्दिको हवला दिदैँ गर्दा उच्च ब्राम्हणवादी चिन्तनका उपजहरुले जातीय विभेदको अन्त्य गर्न सकेका छैनन् । केही यस्ता घटनाहरु समाजमा भेटिए जसले अहिलेको नेपालको संविधानको सिधै बर्खिलाप गरिरहेको छ । नेपालमा अहिले एक जातीय समुदायले अर्को जातीय समुदायलाई सबै भन्दा बढी लगाईने आरोप प्रत्यारोप हो जातीवाद । यी माथी उल्लेखित ७६ वर्षीय आचार्य बा’माथि भएको विभेद कुन जातिले गरेको हो ? विभेदको कुनै स्वरुप छ भने ब्राम्हणवादी सोच र चिन्तनमा रहेको पाइन्छ । आफ्नो सँस्कार र सँस्कृति मान्न र अनुशरण गर्न जोसुकैलाई छुट छ । तर त्यसबाट बञ्चित गराउन ब्राम्हणवादी पुरेतलाई कुनै अधिकार छ र ? यहाँ खसक्षेत्री समुदायले आफूलाई ब्राम्हणको वर्गमा राखेर अन्य समुदायलाई आफ्ना दलित पेश गरिरहेको देखिन्छ । तर ब्राम्हणवादी चिन्तन आफैमा यति रोगी चिन्तन हो जसले आफ्नै रगतलाई विभेद गर्छ भने अन्य खसक्षेत्रीलाई किन छाड्छ ? ब्राम्हणबाट खसेर जैसी बनाउने, खत्री बनाउने आफू बाहुन भइरहने छोराछारीमा नै विभेद गरिरहको छ । ब्राम्हणवादी सोच र चिन्तनमा ठूलो विभेद रहेको पाइन्छ । तपाई क्षेत्री हो भने तपाईको घरमा पूजापाठ गर्न पुरेत नै आउनुपर्छ । तपाईको घरमा आएका पुरेतले तपाईले छोएका खाना खाएर जान्छन् त ? यी सबै कुराहरुको बारेमा थप अध्ययन गर्ने र खोज्ने काम बाँकी छ । तर अहिले यति सोधौँ, पुरेत बा ! टंक आचार्यले सहभोजमा गएर भोज खाएपछि जातबाट खसे कै हुन त ?

तपाईको प्रतिक्रिया