‘प्लीज मामा टेन रुपिज !’

Halesi

भिम राई सदरमुकाम जस्तो ठाउँमा सबैलाई हतारो हुन्छ । कोही मोटरबाईकमा हुइकी रहेका हुन्छन् । कोही ठूला गाडीको हर्न प्वाँपा र प्वुँपु बजाइ रहेका हुन्छन् । व्यापारीलाई आफ्नो समान बिक्री गर्न र पैसा लिन उत्तिकै हतारो छ । विदेशमा श्रीमान, दिक्तेलमा श्रीमती भएका परिवारहरुको झन् कम छैन । क्याम्पसरोड, अल्छेढुङ्गा, माटीकोरे, आचार्यगाउँ, हस्पिटलचोक, खाल्ले, मेघेचौताराले छेकेको भूभाग न हो दिक्तेलबजार । दिक्तेलबजार बिस्तारै शहर हुने क्रममा छ । पुरानो संरचनाको घरहरु रहेको दिक्तेलबजारमा स्थायी पर्यटकहरु प्रसस्तै भेटिन्छन् । दिक्तेलबजारलाई केन्द्र बनाएर नगरपालिका बनेकै छ । हुन त नगरपालिका बनेपनि नबने पनि यी स्थायी पर्यटकहरुलाई केही फरक पर्दैन । उनीहरु यस ठाउँलाई राम्रो जान्दछन् । यसमध्येका सबै भन्दा पहिलो पर्यटक हुन् भान्जा । उनी दिक्तेलबजार आएको करीब ८÷९ वर्ष भयो । उनी हातमा एउटा सिलभरको प्लेट बोकेर दिक्तेलबजारसीको घरको ढोकाढोका चहार्नुका साथै बाटामा भेटिएकालाई राम्रो भाषामा पैसा मागेर आफ्नो जीविका चलाउँछन् । उनैको शब्द हो ‘प्लिज टेन रुपिज दिनु नँ म चिया खान्छु !’ उनको घर नेर्पा हो । उनी हरेक व्यक्तिलाई भेट्नासाथ ‘प्लिज टेन रुपिज दिनु नँ म चिया खान्छु !’ भनी हाल्छन् । कसैले पैसा दिनासाथ होटलमा गएर रक्सी किनेर खाइहाल्छन् । जहिले रक्सी खाएर हिड्ने उनै भान्जा बजार नडुले के भएन, को आएन जस्तो महसुश गर्छन् दिक्तेलबजारवासी । करीब दश वर्ष यता दिक्तेलबजारबासीलाई खुब राम्रो सेवा दिदै आएका अर्का पर्यटक भन्जाले । उनी आफूलाई लफ्याङेको भान्जा भनेर चिनाउँछन् । संखुवासभा घर बताउने उनले दिक्तेलबजारमा माटोको व्यापार गर्छन् । उनी डोकोमा माटोको भारी बोकेर ‘आयो हजुर दिक्तेलबजारमा रातोमाटो ! आयो हजार दिक्तेलबजारमा रातोमाटो !’ भन्दै हिडिँरहेका हुन्छन् । केही वर्ष अगाडि उनले आफ्नो श्रीमती गौँथली समेत सँगसँगै डुलाउँदै आएका थिए । तर, अहिले गौँथली भने देखिदैन । यस्तै खोटाङ सिम्पानीबाट आएको बताउने अर्का पाहुना पनि दिक्तेलले पाल्नु परेकै छ । उनलाई जान्ने सुन्ने र चिन्नेहरुले ‘चाउरे डन’को उपाधि दिन्छन् । उनी सकेसम्म काम नगरी रक्सी मागेर खान रमाउने पाहुना हुन् । उनले खास काम गरेको देखिन्न । काम गरेपनि उनी खास रुचिका साथ गर्दैनन् । उनले आफूलाई पढेलेखा भएको व्यक्ति समेत दाबी गर्छन् । उनले ‘म सिम्पानीको नाराहा थाहा पाउँछु । म जन्मेको त्यही हो ।’ भन्ने गरेका छन् । उनी भारतको कोइलाखात, दार्जीलिङ समेत थाहा पाउँदा रहेछन् । उनी हिन्दी, मद्रासी लगायत अन्य भाषा जान्ने भएपनि अहिले रक्सीले बिर्सेको बताउँछन् । एसएलसी परीक्षा सिम्पानी माविबाट दिएका उनले तीन वटा विषय लागेपछि गाउँ छाडेका रहेछन् । आफ्नो खास नाम भन्न नचाहेका उनले तात्कालीन सिम्पानी गाविस तथा हाल खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राईलाई चिन्छु भनेका छन् । भारतको धेरै शहरमा घुम्दा रक्सी खाने बानी बसेको बताउँछन् । “नेपाली धेरै हुने । आफूले पैसा कमाए पनि नकमाउने साथीहरुलाई पनि आफूले खाए जस्तै खुवाउनु पर्ने भएकाले आर्थिक जोहो गर्न सकिनँ । अहिले बाध्यता भएर यसरी जीवन बिताउँदै छु ।”, उनले सुनाए । उस्तै एउटा अर्को पात्र पनि दिक्तेलबजारले झेल्नु परिरहेको छ । उनी हुन् ज्ञानबहादुर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीय पर्यटक हुन् ज्ञानबहादुर । उनलाई शुरुमा दिक्तेलबजारमा भेट्नेहरुले काम गरेर खाने व्यक्तिका रुपमा चिन्थे । बोल्न नसक्ने तथा मुखमा निरन्तर केही न केहीको पात च्यापेर एकोहोरो काम गरिरहने उनी अहिले फेरिएका छन् । उनको मुखमा पात छुटेको छैन । तर, उनी अहिले रक्सीको लतमा फसेका छन् । उनले सडकमा हिड्ने जोसुकै व्यक्तिलाई जबरजस्ती पैसा मागेर हैरान बनाउँछन् । रक्सीले मात्न थालेपछि अलिअलि बोल्न थाल्छ । तर, अचम्म मान्नु पर्ने कुरा केहो भने उनी दिक्तेलबजारमा कहिल्यै सुतेको भेटिएको छैन । पैसा माग्दै गर्दा कसैले डर देखायो भने उनी भाग्ने गर्छ । अर्का पात्र हुन बाहुन भाइ, बाहुन याम्खाबाट आएका हुन् । आफूलाई याम्खाली पौडेल भएको बताउने उनी दिक्तेलमा समान ओसारपसारको काम गर्छन् । भजन गाउँदै हिड्ने उनको बास्तविक नामथर के हो बजारवासीलाई थाहा छैन । यसका अलावा मेजरनी पनि अर्का पात्र हुन् । मेजरनी हलेसी च्यास्मिटार तिर की हुन् । उनी दिक्तेलबजारमा लामो समय बिताउने एक महिला पर्यटक हुन् । उनले कमाई गरेको पैसा अरुलाई पठाउने गर्छिन् । सुन्नमा आए अनुसार उनलाई कुनै एक व्यक्तिले म आर्मीको मेजर हुँ भनेर फसाएको रहेछ । उनले हरेक आफ्नो कमाई उनैलाई पठाउँछिन् । उनी मोबाइल बोक्छिन् । हप्ताको एकदिन पैसा उसैलाई पठाउँछिन् । उनलाई आर्मी क्याम्प आफ्नै हो जस्तो लाग्छ । तर त्यहाँ कानूनले छिर्न मिल्दैन । कुनै छोरी मान्छेले आर्मी मेरो ब्वाईफ्रेण्ड हो भनेमा उनी निकै रिसाउँछिन् । जान्ने बुझ्नेहरुले कुनै केटाले उनलाई भ्रममा पारेर उनको कमाई खाइरहेको छन् । अर्को एक नानी पनि बजारमा बेवारिस भेटिन्छ । उनी २२÷२४ की हुन् । उनी खार्मी घर भएकी नेवार थर की हुन् । उनलाई मानसिक सन्तुलन गुमाउनु पर्ने कारण सामाजिक रहेछ । उनी उमेर कलिलै हुँदा परिवारमा उनको दिदीको मगनी हुन्छ । विहेको सबै कुरा टुङ्गो लागेपछि दुलाहा आउने बेला दिदी भाग्छिन् । दिदीको ठाउँमा बहिनीलाई परिवारले दिएर पठाउँछ । उनले एक बच्चा जन्माउँछिन् । त्यसपछि उनलाई सामाजिकरुपमा आफू कसरी ल्याइयो थाहा हुन्छ उनी रुचाइएको पात्र होइन भन्ने । उनी मानसिक हिसाबमा ग्रस्त हुन्छिन् । फेरी बच्चा पेटमा आउँछ । उनी घर छाडेर हिँड्न थाल्छिन् । एभोर्सन गरिदिने प्रयास हुन्छ । परिवारले स्वीकार्ने शर्तमा एभोर्सन हुँदैन । बच्चा जन्माउन बाध्य पारिन्छ । अहिले उनी सडक किनारामा भेटिन्छिन् । सडकमै रहेको समयमा कसैको गर्भ बोकेर खर्भरै पुनः छोरी जन्माएकी छिन् । करीब पाँच महिनाअघि जन्माएको छोरी उनको माइतमा रहेको छ । छोरी छाडेर पुनः दिक्तेलबजारमै डुलिरहेकी छिन् उनी । उनको छोरी अहिले कस्तो अवस्थामा छ थाहा छैन उसलाई । नातिनीको बुबा को हो ? त्यो पनि थाहा छैन बाजेबजूलाई । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारवासीका लागि अभिन्न अङ्ग हुन् गुरुङ बा र राजन । उनीहरु दुई जनाले बजारका हरेक घरका मानिसको समान डोकोमा बोकेर ढुवानी गरिदिन्छन् । उनै दुई जनाले अहिले दिक्तेलबजारको काम धानेको छ । यी माथीका सबै पात्रहरुको आ–आफ्नो कथा छ । तर हाम्रो समाजले उनीहरुलाई बुझ्ने हैसियत बनाएको छैन । उनीहरुको पीडाको बारेमा पनि केही त सोच्ने हो की ?

तपाईको प्रतिक्रिया