यस्तो सुरक्षामा कसरी बाँचौ सिडियो सा’ब ?

Halesi

भिम राई घटना नं. १ ः– लोकसेवा आयोगले साउन–४ गते बिहान ८ बजेबाट दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा परीक्षा सञ्चालन गर्ने तयारीका साथ सुरक्षाकर्मीहरु तैनाथ गर्छ । आन्दोलनकारीहरुले लोकसेवा आयोगको असमावेशी विज्ञापनको विरोधमा कार्यक्रमहरु निरन्तर चलाइरहेका छन् । प्रहरी प्रशासनलाई आरक्षण बचाउ अभियानको केन्द्रीय आन्दोलन चलिरहेको विषय राम्रै जानकारी छ । शुरुमा मसाल जुलुस भयो; सिठी जुलुस भयो, पुत्ला दहनको कार्यक्रम भए, बन्दको कार्यक्रम छ । बिहानै ७ जना आन्दोलनकारी क्याम्पस पुग्छन् । तीनतिरबाट क्याम्पस प्रवेश गरेर लोकसेवा आयोगले निकालेको असमावेशी विज्ञापनको साँकेतिक विरोध गरेर फर्किनेगरि आन्दोलनकारी युवाहरु क्याम्पसको गेटमा पुगेका हुन् । बिना प्रवेश पत्र परीक्षा केन्द्रमा छिर्न प्रयास गर्छन् । सुरक्षाकर्मीले छेक्दैन । उनीहरु सरासर परीक्षा हुने हलमा पुग्छन् । कसैले केही नभनेपछि आन्दोलनकारीले लोकसेवा आयोगको प्रश्नपत्र माग्छन् । निरीक्षकले आफ्नै हातले दिन्छन् । आन्दोलनकारीमध्येका एकजनाले प्रश्नपत्र च्यातेर साँकेतिक विरोध जनाउँछन् । बल्ल सुरक्षाकर्मीको चेत खुल्छ । सुरक्षाकर्मीहरुले आन्दोलनकारीलाई नियन्त्रणमा लिन्छन् । त्यसपछि परीक्षा गराउन गएका प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई हात खुट्टा भाँच्ने आदेश दिन्छन् । प्रहरीले बर्बरताका साथ आन्दोलनकारीमाथी राईफलस्को कुन्दाले ठोक्ने, सुताएर तिघ्रा–तिघ्रामा उफ्रने गर्छन् । प्रहरीले ४ जना युवाहरुलाई गिरिफ्तार गरेर लैजान्छ । पछि राजनीतिक दलका रोहबरमा एक रात राखेर रिहाई गर्छ । घटना नं. २ ः– खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजास्थित रत्नपार्कमा प्रहरीको बुथ छ । बुथसँगै घरहरु जोडिएका छन् । त्यही घरको विपरित दिशामा स्थानीय व्यापारी राजु श्रेष्ठले आफ्नो मोटर साईकल पार्क गर्छन् । राति बुथ नजिकैबाट मोटरसाईकल चोरी हुन्छ । प्रहरीलाई जानकारी हुन्न । बुथमा दिउसो प्रहरीको सेन्ट्री घटनास्थल भन्दा करीब ५० मिटरको दुरीमा उभिरहेको पाइन्छ । तर रातिको समयमा सेन्ट्री कता गए होलान ? कुनै पनि हालतमा सुरक्षाको प्रत्याभूत नहुनेगरि सामान रातारात हराउँछ । नगरपालिकाले राखेको कुनैपनि सिसी क्यामेरामा यसको फुटेज छैन । किरात चोकमा रहेको दुईवटा सिसी क्यामेरा सर्वसाधरणका लागि हाउगुजी जस्तो मात्र भएको छ । विगतको कुरामा पनि जाउँ १, वि.सं. २०७३ साल माघ–२६ गते बुधबार बिहान मृत फेला परेकी खोटेहाङ गाउँपालिका– ९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको बताउँदै आएको छ । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जङ्गलको बाटोभन्दा करीब ४० मिटर तल भीरमा भेटिन्छ । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको अवस्था रहेको मुचुल्का उठाइन्छ । घटना स्थलमा भेटिएका प्रमाणहरुको आधारमा रितालाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको थियो । २, विं.स. २०७४ साल जेठ १६ गते हत्या गरिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मालाई भेटियो । स्याउला काटेर घर फर्कनेक्रममा उनको हत्या भएको भनिन्छ । ईलाका प्रहरी कार्यालय हलेसीभन्दा करिब पैदल पाँच मिनेटको दुरीमा घटना भएको छ । प्रहरी प्रशासनले हत्यापछिका अपराधीको खोजि जारी राखेको बताउँछ । हालसम्म अपराधीको सुइको समेत पाएको छैन । ३, वि.स. २०७४ साल साउन ४ गते हत्या गरिएकै अवस्थामा जन्तेढुङ्गा गाउँपालिका –६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको फेला पर्छिन । माइती घर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कनेक्रममा उनी सम्पर्क विहिन बनेको आफन्तहरुले जानकारी दिन्छन् । सम्पर्क विहिन बनेको दोस्रो दिन देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनी कपडा खोलिएको अवस्थामा भेटिन्छ । उनको टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएपछि यहाँपनि बलत्कार पछि हत्या भएको प्रहरीको ठहरछ । यी माथीका घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको अवस्था बताउँदैन र ? जिल्लाको शान्ति सुरक्षाको ठेक्का पाएका निकायहरुले सुरक्षाको प्रत्याभूत गराउन सकेकै हुन त ? आदेश दिने र लिनेहरुको संवेदनशिलता प्रभावकारी नै हो त ? यी र यस्ता किसिमका प्रश्नहरुले अहिले खोटाङ ताती रहेको छ । सुरक्षाकर्मीले लोकसेवा आयोगको परीक्षाको प्रश्नपत्रको सुरक्षा दिन नसक्नु । बिना प्रवेशपत्र पनि परीक्षा केन्द्रहरुमा आन्दोलनकारी घुस्न दिनु । प्रहरीकै अगाडिबाट मोटर साईकल चोरी हुनु । कसले कता लग्यो भन्ने कुराको अहिलेसम्म पत्ता लाग्न नसक्नु । प्रहरीको अनुसन्धान किन यति कमजोर भयो होला ! किन पत्ता लाग्न सकेन चोरी भएको मोटर साईकल ? बिना प्रवेशपत्र आन्दोलनकारी किन प्रवेश गरे लोकसेवा आयोगको परीक्षा केन्द्रमा ? २०७३ सालमा बलत्कारपछि हत्या भएको रिता तामाङको परिवारले कहिले महसुश गर्न पाउने शान्ति सुरक्षाको प्रत्याभूति ? रिताको आत्मले के भन्दो हो ? २०७४ सालमा मारिएको ज्ञानीमायाँको हत्यारा किन फेला नपरेका होलान् ? २०७४ साउनमा बलत्कार पछि हत्या गरिएको देविको परिवारले न्याय पाउन कति समय कुर्नु पर्ला ? सुरक्षाको सम्पूर्ण जिम्मा सिडिओ सा’बकै होइन र ? यदि हो भने त सिडिओ सा’ब यस्तो किसिमको शान्ति सुरक्षामा हामी नागरिकको कसरी जीउधनको सुरक्षा होला त ! मर्जी भए हुने थियो कि ?

तपाईको प्रतिक्रिया