कानेपोखरीबाट विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

Halesi

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले सुन्दरहरैंचा नगरपालिका वडानम्बर १२ बस्ने ४० वर्षीय अशोक राई तथा कानेपोखरी गाउँपालिका वडानम्बर ६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ परेका तीन जना मध्ये केन्द्र धिमाल भने विप्लव कार्यकर्ता होइनन् । उनी भरुवा बन्दुक बनाउने र बिक्री गर्ने कार्यमा सक्रिय रहेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट बरामद गरेको हतियार पनि सार्वजनिक गरेको छ ।

विप्लप नेतृत्वको नेकपाले नेपाल बन्दको आयोजना गरेको अवस्थामा प्रहरीले उनीहरुको गतिविधि निगरानी गरिरहेको थियो । सोही क्रममा हतियारसहित हिडिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी टोलीले बेलबारी नगरपालिका ३ स्कुल डाँडाबाट मोटरसाइकलमा सवार अशोक राई र कंश धिमाललाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । खोजतलासको क्रममा कंश धिमालको घरमा लुकाई राखेको दुई थान अटोमेटिक पेस्तोल त्यसमा लाग्ने म्यागजिन र १४ थान गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जन परिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको उनले बताए । कंश धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया